वीरगञ्ज। वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ मा महिला हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आर्थिक सहयोग तथा झरिमाई महिला विकास समाज वीरगञ्जको आयोजनामा सञ्चालित महिला हिंसा विरुद्धको दुई दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
महानगरपालिकाको वडा नम्बर १६ स्थित मिथिला टोल मन्दिर टोलमा आयोजित कार्यक्रमको दोस्रो दिन महिला अधिकारकर्मी एवं झरिमाई महिला विकास समाजकी उपाध्यक्ष गिनी मिश्राले प्रशिक्षण दिएकी थिईन् ।
प्रशिक्षणका क्रममा उनले महिलाहरू जहाँ रहे पनि आफ्ना समस्या, पीडा र अधिकारका विषयमा खुलेर बोल्नुपर्नेमा जोड दिईन् ।
महिलाले आफ्ना कुरा निडरतापूर्वक समाजमा राख्दा मात्र कर्तव्य र अधिकार दुवै सुनिश्चित हुने उनको भनाइ थियो ।
यसैगरी, कार्यक्रममा बोल्दै संस्थाका संस्थापक एवं संरक्षक राम आर्यले घरपरिवार र समाजमा छोरा र छोरीबीच समान व्यवहार हुनुपर्ने धारणा राखे ।
छोरीहरूलाई पनि सम्मान र उचित शिक्षा प्रदान गर्दै अगाडि बढाउन सके मात्र समाजमा महिलाको हक अधिकार सुरक्षित हुने उहाँले उल्लेख गरे ।
वडा प्रतिनिधि रिता देवीसहित ८५ जना स्थानीय महिलाहरूको सहभागिता रहेको उक्त सचेतना कार्यक्रमको सहजीकरण इन्जिनियर पुरुषोत्तम मिश्राले गरेका थिए ।

