जेनेभा । ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको तर्फबा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको तर्फबाट महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरेका छन् ।
उनका अनुसार नेपाल सरकारले आगामी दशकलाई मुख्य रूपमा आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने रणनीति लिएको छ ।
देश भित्रै पर्याप्त र मर्यादित रोजगारीका अवसरहरू सिर्जना गरेर वैदेशिक रोजगारीको निर्भरतालाई कम गर्ने सरकारको मुख्य लक्ष्य रहेको छ ।
यसका साथै पछिल्लो समय फस्टाउँदै गएको डिजिटल तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकहरूको सुरक्षामा पनि विशेष जोड दिइएको छ ।
मन्त्री यादवले यस्ता श्रमिकहरूको हकहित सुनिश्चित गर्नका लागि स्पष्ट सम्झौता, व्यावसायिक सुरक्षा, एल्गोरिद्मिक निष्पक्षता र डेटा गोपनीयता जस्ता आधुनिक श्रम चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको ओैंल्याए ।
डिजिटल प्लेटफर्महरूमा काम गर्ने युवाहरूको अधिकार संरक्षण गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको उनको भनाइ छ ।
श्रम बजारलाई अझ सुरक्षित र व्यवस्थित बनाउनका लागि नेपाल सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माण गरिरहेको जानकारी गराइएको छ ।
यसका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि सुधार्न र श्रम शोषण रोक्नका लागि जबरजस्ती श्रमसम्बन्धी प्रोटोकल अनुमोदनका लागि संसद्मा पेश भइसकेको छ ।
सुरक्षित तथा मर्यादित आप्रवासन र समग्र श्रमिक अधिकारको सुनिश्चिततालाई केन्द्रमा राखेर आगामी योजनाहरू तय गरिने प्रतिबद्धता सम्मेलनमा जनाइएको छ ।

