वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले निवर्तमान अध्यक्ष अनुप तिवारीलाई संस्थाको निर्णयपुस्तिका (माइन्युट), हरहिसाब र अन्य आधिकारिक दस्तावेज ३ दिनभित्र बुझाउन निर्देशन दिएको छ।
तोकिएको समयसीमाभित्र कागजात उपलब्ध नगराए नियमानुसार कारवाहीको प्रक्रिया अघि बढाउने चेतावनी महासंघले दिएको छ।
निवर्तमान अध्यक्ष तिवारीकै नेतृत्वमा गठन भएको सदस्यता शुद्धीकरण संघर्ष समितिले वर्तमान अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाउँदै शुद्धीकरण प्रक्रिया सुरु गर्न ३ दिने अल्टिमेटम दिएको थियो।
त्यसको जवाफस्वरूप महासंघले तेस्रो दिनमै तिवारीसँगै विगतका आधिकारिक कागजात माग गरेर एक्सन लिएको हो।
सदस्य शुद्धीकरणको वास्तविक अवस्था र विगतको प्रक्रिया बुझ्न जिल्ला शाखाको माइन्युट अनिवार्य भएकाले ती कागजात ३ दिनभित्र बुझाउन पत्राचार गरिएको महासंघले जनाएको छ।
दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएर पराजित भएपछि तिवारीले सदस्यता शुद्धीकरणको मुद्दा उठाउँदै आएका छन्।
महासंघमा नयाँ नेतृत्व आएको लामो समय बितिसक्दासमेत पूर्वनेतृत्वले संस्थाको आधिकारिक कागजात र हरहिसाब बुझाउन आलटाल गरेपछि शाखाका सचिव विजयकुमार महतोले निवर्तमान अध्यक्ष तिवारीलाई सम्बोधन गर्दै पत्र काटेका हुन्।
पत्रकार महासंघको केन्द्र र मधेश प्रदेश समितिलाई समेत बोधार्थ पठाइएको उक्त पत्रमा वर्तमान कार्यसमितिलाई तत्कालीन नेतृत्वले हालसम्म जिल्ला कार्यसमितिको माइनुटलगायत कुनै पनि आधिकारिक दस्तावेज हस्तान्तरण नगरेको स्पष्ट पारिएको छ।
२०८१ पुस ३ गते बसेको वर्तमान कार्यसमितिको पहिलो बैठकले तत्कालीन र वर्तमान दुवै कार्यकालका कोषाध्यक्ष सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब तथा चलअचल सम्पत्तिको लगत ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको थियो।
तर, जिम्मेवारी तोकिएको ५१८ दिन बितिसक्दासमेत विवरण उपलब्ध हुन सकेको छैन। यसबारे निवर्तमान अध्यक्ष तिवारीसहित तत्कालीन कार्यसमितिका जिम्मेवार पदाधिकारीहरूलाई पटकपटक आग्रह गर्दा पनि दस्तावेज बुझाउन आनाकानी भइरहेको महासंघको आरोप छ।

सदस्यता शुद्धीकरण संघर्ष समितिले उठाएको मागप्रति ध्यानकर्षण भएको जनाउँदै महासंघले तत्कालीन अवस्थामा के कसरी, कुन प्रक्रिया पुर्याएर र कस्ता व्यक्तिहरूलाई सदस्यता वितरण गरिएको थियो भन्ने तथ्य यकिन गर्न विगतको माइन्युट अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
संस्थागत निर्णय र कागजात नहुँदा महासंघको कार्य सञ्चालनमा समेत गम्भीर समस्या पैदा भएको पत्रमा उल्लेख छ।
विगतका संस्थागत निर्णयकै आधारमा शुद्धीकरणको प्रक्रिया अघि बढाउनुपर्ने भएकाले नेपाल पत्रकार महासंघ, पर्सा शाखाको माइनुटलगायत सम्पूर्ण आवश्यक विवरण ३ दिनभित्र शाखा कार्यालयमा बुझाउन ताकेता गरिएको छ।
अन्यथा, संस्थाको नियमानुसार कानुनी एवं प्रशासनिक कारवाही प्रक्रिया अघि बढाउने निर्णय महासंघले गरेको छ।
सबै क्षेत्र र निकायलाई प्रश्न गरेेर जिम्मेवार बनाउने मर्यादित र बाैद्धिक पेशाकाे रूपमा समाजमा चिनिएकाे पत्रकारहरूकाे छाता संगठनकाे नै ५१८ दिनदेखि हिसाबकिताब पारदर्शी नहुदा समाजले उल्टै प्रश्न गर्ने अवस्थाकाे सृजना गरेकाे छ ।
पत्रकारिताकाे सुदृढीकरण हुनुपर्नेमा आफू सकारात्मक रहेकाे बताउदै सुद्धी्धीणका लागि संस्था शुद्ध बनाउनु पर्ने र त्यसमा पूर्व कार्यसमिति जिम्मेवार हुनुपर्ने वर्तमान अध्यक्ष ओमप्रकाश खनालले बताए ।

