बिरगंज ।“Start Early, Protect Vision for Life” भन्ने मुख्य नाराका साथ मे १८ देखि २४ सम्म विश्वभर मनाइँदै गरिएको ‘विश्व मायोपिया सचेतना सप्ताह २०२६’ को अवसरमा बिरगंजमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन् ।
सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको र्याली वीरगन्जको घण्टाघरबाट सुरु भई मकालु होटल, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो ।
विगत केही समययता बालबालिकाहरूमा नजिकको दृष्टिदोष अर्थात् मायोपियाको समस्या तीव्र गतिमा बढिरहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
बिरगंज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पतालको मुख्य आयोजना तथा नारायणी आँखा अस्पताल र सिद्धि आई केयर सेन्टरको सक्रिय सहभागितामा आयोजित उक्त कोणसभामा वरिष्ठ आँखा रोग विशेषज्ञहरूले मायोपियाका कारण, यसको रोकथाम र समयमै उपचार नगर्दा निम्तिने जोखिमबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा विशेषज्ञ वक्ताका रूपमा उपस्थित डा. कृष्ण कान्त गुप्ता, डा. विपिन विष्ट र डा. आदित्य प्रसादले बालबालिकामा बढ्दो स्क्रिन टाइमलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
आधुनिक जीवनशैलीका कारण अत्यधिक मोबाइल, ट्याबलेट तथा कम्प्युटरको प्रयोग, लामो समयसम्म नजिकबाट पढ्ने वा हेर्ने बानी र बाहिरी (आउटडोर) खेलकुदमा कमी आउनाले बालबालिकाहरूमा मायोपिया हुने दर निकै उच्च देखिएको चिकित्सकहरूको भनाइ छ ।
उनका अनुसार समयमै आँखाको परीक्षण गराउने, चिकित्सकको सल्लाहबमोजिम उचित पावरको चस्मा प्रयोग गर्ने र नियमित फलोअपमा बस्ने हो भने बालबालिकाको दृष्टिलाई थप कमजोर हुनबाट सुरक्षित राख्न सकिन्छ ।
स्थानीय सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा अभियानका संयोजक एवं मायोपिया विशेषज्ञ वसन्त पौडेलले यस्ता सचेतनामूलक अभियानले अभिभावक र बालबालिका दुवैलाई जिम्मेवार बनाउने र दृष्टि संरक्षणमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै मुख्य आयोजक संस्था वीरगन्ज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पतालका अध्यक्ष विश्वराज गौतमले र्याली तथा कोणसभालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हात, चिकित्सक टोली र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर ।
अध्यक्ष गौतमले अस्पतालले केवल उपचार मात्र नभई समुदायस्तरमै पुगेर आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेकोे छ ।

