वीरगन्ज । मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।
महानगरपालिकाको बोर्ड बैठकको निर्णयअनुसार वडा नम्बर २१ मा ४ बिगाहा ५ कठ्ठा जग्गा विश्वविद्यालयलाई उपलब्ध गराइएको हो ।
भाडाको भवनबाट प्रशासनिक कार्य सञ्चालन गर्दै आएको विश्वविद्यालयले जग्गा प्राप्त गरेसँगै अब आफ्नै स्वामित्वको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने बाटो खुलेको छ ।
महानगरपालिकाले शैक्षिक क्षेत्रको विकास र वीरगन्जलाई उच्च शिक्षाको केन्द्र बनाउने उद्देश्यसहित यो महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।
यसैबीच, विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह तथा कार्यपालिका बोर्डका सम्पूर्ण सदस्यहरूलाई स्थानीय सरोकारवाला, शिक्षाप्रेमी तथा सर्वसाधारणले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
महानगरको यस कदमले मधेश प्रदेशकै गौरवको रूपमा रहेको विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

