वीरगन्ज । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतीप्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ परेको घटनालाई लिएर नयाँ तथ्यहरू बाहिर आएका छन्।
वैशाख २९ गते राति सिन्धुलीको कमलामाई नगरपालिकाबाट पक्राउ परेका पाण्डे ‘भाग्दै गरेको’ नभई प्रसिद्ध शक्तिपीठहरूको दर्शनका लागि निस्किएको बेला पक्राउ गरेको खुलेको छ।
पाण्डे सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती र बाराको गढीमाई मन्दिर दर्शनका लागि जाने क्रममा रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनी शत्तिपीठ दर्शनका लागि नियमित रुपमा जाने गरेको उनलाई चिन्नेहरु र मन्दिरका पुजारीहरुले समेत बताएका छन् । गढीमाई मन्दिरका मुख्य पुजारी चन्द्रदेव चौधरीका अनुसार पाण्डे विगत २५ वर्षदेखि नियमित रूपमा बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर आउने गरेका थिए।
उनी प्रत्येक महिनाजसो दर्शनका लागि आउने र मन्दिरको भौतिक पूर्वाधार विकासमा समेत सहयोग गर्दै आएका थिए। पुजारी चौधरीले पाण्डेले मन्दिरमा साउण्ड सिस्टम र झाल बाजा जस्ता सामग्री उपलब्ध गराएको भन्दै उनलाई एक धार्मिक र सज्जन व्यक्तिको रूपमा स्मरण गरे।

तत्कालिन सशस्त्र माओवादी जनयुद्धको कठिन समयमा गढीमाईको आशीर्वादले नै आफ्नो ज्यान जोगिएको विश्वास राख्ने पाण्डे कुनै पनि नयाँ कार्य सुरु गर्नुअघि शक्तिपीठहरूको दर्शन गर्ने गर्थे।
यसपटक पनि उनी धार्मिक यात्राकै क्रममा रहेको दाबी गर्दै परिवारले ‘भाग्दै गर्दा पक्राउ परेको’ भन्ने प्रचारको खण्डन गरेका छन्। मन्दिर दर्शन गर्न गएको व्यक्तिलाई पक्राउ गर्नु र अझ भाग्दै गर्दा पक्राउ गरेको भन्ने प्रचारले उनको व्यक्तिगत मान प्रतिष्ठामा ठेस पु¥याएको भन्दै परिवारजने दुःख व्यक्त गरेका छन् ।
पाण्डे पक्राउ परेको जानकारी पाएका शक्तिपीठ मन्दिरका पुजारीहरूले पनि चिन्ता व्यक्त गर्दै देवीको भक्तलाई अन्याय नहोस भन्ने कामना समेत गरे । मन्दिरका पुजारी मात्रै होईन मन्दिर परिसरमा पूजाको सामग्री बेच्ने स्थानीयहरूले समेत पाण्डेलाई राम्रोसँग चिनेको बताएका छन् । मन्दिरमा पूजासामग्री बिक्री गर्ने स्थानीयले पनि पाण्डेको गिरफ्तारी दुखद भन्दै निर्दोष व्यक्ति नफसुन् भन्ने कामना गरे ।

पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान सुरु गरेको छ। उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा अघि बढाइएको छ।
तर, यस गिरफ्तारीको बैंक तथा वित्तीय क्षेत्रका चारवटै छाता संगठनहरू— नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै कडा विरोध जनाएका छन्। धितो लिलामी गरी कर्जा असुली गर्ने बैंकको नियमित प्रक्रियालाई लिएर सीईओलाई नै पक्राउ गर्दा बैंकिङ क्षेत्रको स्थायित्वमा आँच पुग्ने उनीहरूको ठहर छ।
यसैबीच, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो अडान प्रष्ट पारेको छ। बैंकले स्मार्ट टेलिकमले लिएको ४ अर्ब ६० करोड ऋण नतिरेपछि प्रचलित ऐन, कानुन र राष्ट्र बैंकको निर्देशन अनुसार नै उपकरणहरू लिलामी गरिएको जनाएको छ।
लिलामीबाट प्राप्त रकममध्ये सहवित्तीयकरण कर्जा चुक्ता गरी बाँकी रहेको ३८ करोड रुपैयाँ खाता रोक्का रहेका कारण बैंककै सुरक्षित खातामा रहेको र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

