काठमाडौं । सरकारले क्यासिनोमा नेपाली नागरिकको प्रवेश र अवैध खेल सञ्चालन रोक्न देशभरका १२ जिल्ला प्रशासन कार्यालयलाई विशेष परिपत्र गर्दै निगरानीमा कडाइ गरेको छ।
पर्यटन विभागले बुधबार पत्राचार गर्दै कानुनी धज्जी उडाएर नेपालीलाई जुवा खेलाउने र अनुमतिबिनाका खेल सञ्चालन गर्ने क्यासिनोहरूको सूक्ष्म अनुगमन गर्न निर्देशन दिएको हो।
विशेषगरी काठमाडौं, कास्की र सीमावर्ती जिल्लाहरू पर्सा, झापा, मोरङ, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर र भक्तपुरमा विभागले यो कडा कदम चालेको हो।
पर्यटन ऐन २०३५ र क्यासिनो नियमावली २०८२ ले नेपालीलाई क्यासिनो प्रवेशमा पूर्ण रोक लगाएको सन्दर्भमा विभागका निर्देशक हिमाल गौतमले कानुन उल्लंघन गर्ने सञ्चालकलाई तत्काल हिरासतमा लिएर कारबाही गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनको पालना र सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न अबदेखि क्यासिनो छिर्ने जोसुकैको परिचयपत्र अनिवार्य जाँच गरिनेछ।
संघीय संसद्मा समेत सांसदहरूले यस विषयमा ध्यानाकर्षण गराएपछि सरकारले विदेशी पर्यटकलाई मात्र प्रवेश दिने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी थालेको हो।

