काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीहरूलाई लालपुर्जा वितरण नगरेसम्मका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने तयारी थालेको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा शहरी विकास र संघीय मामिला मन्त्रालयका प्रतिनिधिहरूले सुकुम्बासी व्यवस्थापनको यो नयाँ योजनाबारे जानकारी गराएका हुन्।
हाल विभिन्न होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूको वास्तविक पहिचानका लागि स्क्रिनिङ भइरहेको छ। यो प्रक्रिया सकिएलगत्तै फास्ट ट्रयाकबाट जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको छ।
यसका लागि आवश्यक बजेट र स्रोतको समेत सुनिश्चितता भइसकेको मन्त्रालयले समितिलाई आश्वस्त पारेको छ।
होल्डिङ सेन्टरमा रहेका परिवारका बालबालिकाका लागि स्कुल बस र सुत्केरी महिलाहरूको पोषणका लागि विशेष प्रबन्ध मिलाइएको सरकारी दाबी छ।
सरकारले प्रस्तुत गरेको यो योजना र कार्यप्रगतिको स्थलगत अवस्था बुझ्न संसदीय समितिले चाँडै अनुगमन गर्ने निर्णय गरेको छ।

