बारा । बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहँदै आएका उनीहरूलाई प्रहरी टोलीले खोजतलासका क्रममा वैशाख ३० गते नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना तोकिएका कलैया उपमहानगरपालिका–१ का मनोज कुमार सरार्फ र सट्टाबाजी मुद्दामा १ हजार रुपैयाँ जरिवाना भएका सोही वडाका दिपक कुमार सरार्फ रहेका छन्।
त्यस्तै नकबजनी चोरी मुद्दामा ३ वर्ष कैद र ३ हजार रुपैयाँ जरिवाना सुनाइएका कलैया–१ का नेक महमदलाई अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले पक्राउ गरेको छ।
चोरी मुद्दामा ५ हजार रुपैयाँ जरिवाना भएका कलैया–४ का साबन साह र अभद्र व्यवहार मुद्दामा संलग्न सुवर्ण गाउँपालिका–१ सोलखपुरका नवलकिशोर यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

