वीरगन्ज । वीरगन्ज भन्सार कार्यालय (आईसीपी) मा भारतर्फबाट बिहानै गाडी छोड्न भारतीय कस्टम मानेको छैन ।
सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण गर्ने, भन्सार प्रणालीलाई छिटोछरितो र भन्सार जाँचपासलाई सहजीकरण गर्ने भनेर भारत सरकारको सहयोगमा भारत र नेपालतर्फ समान संरचनाको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) निर्माण गरिएको थियो ।
आईसीपी निर्माण गरेर सञ्चालन गरेको बर्षौ भईसक्दा पनि बिहानै मालवाहक सवारी साधनहरु भारततर्फबाट जाँचपास गराएर नेपालतर्फ पठाउन भारतीय कस्टम पक्ष नमानेका हुन् ।
समान संरचनाबाट एकैदिन सेवा दिने र अन्तराष्ट्रिय भन्सार प्रणालीलाई थप विकसित र सुदृढीकरण गर्दै आयात निर्यातमा सहजीकरण गरेर दुईदेशबीचको व्यापारिक सम्बन्धलाई समेत मजबुद बनाउने उद्देश्य आईसीपीको रहेपनि भारतीय पक्षले मालवाहक सवारी साधन वीरगन्ज भन्सारतर्फ पठाउन नमानेको टिआरएस हिमालयन लजिपार्क प्रालिका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले बताए ।
टिआरएस हिमालयन लजिपार्क प्रालि नेपालतर्फ वीरगन्ज भन्सार (आईसीपी) बाट मालवाहक ट्रक भित्रिने, बाहिरिने तथा पार्किङ्गको व्यवस्थापन लगायतका भन्सार कार्यालयको यार्ड व्यवस्थापनको सम्पूर्ण काम हेर्दै आउने कम्पनी हो ।
भारतीय कस्टमबाट बिहानै जाँचपास गराएर गाडी पठाउन दुईबर्षदेखि अनुरोध गरेपनि अहिलेसम्म भारतीयपक्षले बिहान ११ बजे भन्दा अगाडि कहिल्यै नपठाएको टर्मिनल प्रमुख घिमिरेको भनाई छ ।
उनले भने, ‘हामी बिहान ७ बजे नै यताबाट गाडी पठाउन तयार छौं । तर, भारतीय कस्टमबाट बिहानै गाडी जाँचपास गरेर पठाउन आग्रह गर्दा समेत अहिलेसम्म बिहान ११ बजे भन्दा पहिले गाडी पठाउने गरेका छैनन् ।’
मालवाहक गाडी जाँचपास गरेर बिहानै पठाउन आग्रह गर्दा भारतीय कस्टमले जनशक्तिको अभाव भएको र भारतीय कस्टममा रक्सोलबाट भन्सार कर्मचारीहरु आउन ढिलो हुने गर्दा बिहान गाडी पठाउन नसक्ने बताएको टर्मिनल प्रमुख घिमिरेले बताए ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले पनि भारतीय पक्षले कार्यान्वयनमा आनाकानी गरेको बताए । उनले भने, ‘काउन्टरपार्ट मिटिङमा पनि कुरा भएको हुन्छ । बेग्लै भारतीय कस्टममा गएर पनि भनेका छौं । कार्यान्वयन गछौं भन्छ । तर, गरेको चाहिँ छैन ।’
नेपाल भारतका दुईदेशको सीमामा हुने चोरी, तस्करी, अपराध नियन्त्रण लगायतका समस्याहरुको विषयमा दुईदेशका सीमाक्षेत्रका स्थानीय अधिकारीहरुको सीमा सुरक्षा समन्वय समिति पनि रहेको छ । यस विषयमा आवश्यक समन्वय र सहजीकरण गर्न आफूले पहल गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

