वीरगंज । पर्सागढी नगरपालिकाको बढनियारमा शनिवार “घरदैलोमा डाक्टर” कार्यक्रमको दोस्रो सप्ताह सफलतापूर्वक सम्पन्न भएको छ। जुनतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजना र प्रभु हस्पिटल वीरगञ्जको प्राविधिक सहकार्यमा सञ्चालित उक्त शिविरमा १९० महिला र ६० पुरुष गरी जम्मा २५० जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरियो।
शिविरमा वरिष्ठ फिजिसियन डा. रवि रञ्जन साह र स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताले बिरामीहरूको जाँच गर्नुभएको थियो। सो अवसरमा बिरामीहरूलाई नि:शुल्क औषधि वितरण गर्नुका साथै सुगरको समेत जाँच गरिएको थियो।
जुनतारा सहकारीकी अध्यक्ष मन्जु क्षेत्रीको अध्यक्षता र बलिराम शुक्लाको समन्वयमा भएको कार्यक्रममा प्रभु हस्पिटलका प्रतिनिधि दिलीप राज कार्कीले अस्पताललाई सेवामुखी बनाउन दुर्गम क्षेत्रमा यस्ता शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्पतालसम्म पुग्न नसक्ने विपन्न र ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

