वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल थालेको छ।
महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका घरटहराहरू डोजर प्रयोग गरी हटाइँदा पूर्ण रूपमा भूमीहिन बन्न पुगेका नागरिकहरूलाई आवश्यक विवरण बुझाउन आह्वान गरेको हो।
सडक क्षेत्रमा संरचना निर्माण गरी बसोबास गर्दै आएका नागरिकहरू सडक विस्तारका कारण विस्थापित हुन पुगेकाले देशका अन्य स्थानमा समेत कुनै जग्गा नभई पूर्ण रूपमा भूमीहिन भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउन आवश्यक लगत संकलन गर्ने लक्ष्य महानगरले लिएको छ।
महानगरले प्रभावित सबैलाई ३० दिनभित्र आवश्यक प्रमाणसहित आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत संकलन प्रक्रिया सुरु गर्न लागिएको हो।
महानगरपालिकामा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्ण रूपमा प्रभावित नागरिकहरूलाई राहत उपलब्ध गराउन संघीय सरकारसमक्ष सिफारिस गरिने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए।
थप जानकारीका लागि महानगरपालिकाको भूमि व्यवस्थापन तथा शहरी विकास महाशाखाका प्रमुख गौरव कुमार झासँग सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ।

