वीरगन्ज । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जले बाराको मनमत–कलैया–मटिअर्वा सडक खण्डको स्तरोन्नति कार्यमा चरम ढिलासुस्ती गर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।
पटक–पटक म्याद थप र लिखित प्रतिबद्धता गर्दा समेत काम सम्पन्न गर्न तदारुकता नदेखाएको भन्दै श्री सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे।भी। सँगको ठेक्का तोडिएको हो।
निर्माण व्यवसायीले लामो समयदेखि कार्यस्थलमा काम रोकेर राख्दा सडक धुलाम्य र हिलाम्य भई सवारी दुर्घटना बढेको र स्थानीय जनजीवन कष्टकर बनेको योजना कार्यालयले जनाएको छ।
यसअघि २०८२ असोज ३१ गते राष्ट्रिय दैनिकमा स्पष्टीकरण सोधिएकोमा व्यवसायीले पेश गरेको कार्यतालिका अनुसार पनि प्रगति नदेखिएपछि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ठेक्का रद्द गर्ने निर्णय लिइएको हो।

यस निर्णयसँगै निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिने भएको छ। साथै, बाँकी रहेको काम सम्पन्न गर्न लाग्ने थप लागत सरकारी बाँकी सरह व्यवसायीबाटै असुलउपर गरिने र निजलाई कालोसूचीमा राख्न सिफारिस गरिने कार्यालयले स्पष्ट पारेको छ।
हालसम्म भएको कामको नापजाँच र वित्तीय फरफारखका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन व्यवसायीलाई निर्देशन दिइएको छ।
यदि तोकिएको समयमा व्यवसायी उपस्थित नभए कार्यालयले एकलौटी रूपमा नापजाँच गरी प्रक्रिया टुङ्ग्याउने हुलाकी सडक योजना कार्यालयले जनाएको छ ।
