वीरगन्ज । वीरगंज महानगरपालिकाले मूर्लीचाेकदेखि पूर्वतर्फकाे सडक खण्ड पनि विस्तार गर्ने भएको छ ।
मूर्ली चाेकदेखि पूर्व बाईपास आयल निगम जाने सडककाे सबा अन्सारीको घरसम्मकाे सडककाे दायाँबायाँ ५/५ मिटर विस्तार गर्ने भएको हाे ।
महानगरपालिकाले उक्त सडकक्षेत्रका दायाँबायाँका संरचनाहरू २४ घण्टाभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ।
वीरगंज महानगरपालिकाको प्रमुख प्रशासन तथा व्यवस्थापन महाशाखाले आज एक सूचना जारी गर्दै नेपाल आयल निगमको क्षेत्रीय कार्यालयदेखि मुर्ती चोकसम्मको सडक विस्तार कार्य अघि बढाउन उक्त निर्देशन दिएको हो।
सडकको केन्द्र विन्दुबाट दायाँ र बायाँ ५/५ मिटर गरी जम्मा १० मिटर सडक क्षेत्रभित्र पर्ने भवन तथा संरचनाहरू हटाउन स्थानीयलाई भनिएको छ।

यसअघि नेपाल आयल निगमको कार्यालयदेखि सबाह अन्सारीको घरसम्म सडक विस्तार भइसकेको छ।
बाँकी रहेको सबाह अन्सारीको घरदेखि मुर्ती चोकसम्मको खण्डमा पर्ने संरचनाहरू हटाउन यसअघि २०८१ साल माघ १३ गते नै सार्वजनिक सूचना जारी गरिएको थियो।
विभिन्न कारणले अवरुद्ध हुँदै आएको सो कार्यलाई अब भने महानगरले प्राथमिकताका साथ अघि बढाएको छ।
महाशाखा प्रमुख सुनिल कुमार कर्णका अनुसार तोकिएको समयसीमा सोमबार दिउँसो ३ बजेसम्म घर तथा संरचनाहरू खाली नगरे महानगरले आफैँ हटाउने र त्यसबाट हुने क्षति वा खर्चको जिम्मेवार स्वयम् सम्बन्धित व्यक्ति हुने जनाइएको छ।
