वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार बिहान करिब ८:२० बजेको समयमा पैदल सीमा पार गर्दै गरेका ती व्यक्तिहरूलाई प्रहरी चौकी इनरुवाको नियमित चेकिङ टोलीले शङ्का लागि जाँच गर्दा अवैध गाँजा फेला परेको हो।
पक्राउ पर्नेहरूमा भारतको बिहार, पश्चिम चम्पारण जिल्ला वेतियाका ३५ वर्षीय सफि अहम्द, मझमलियाका ३३ वर्षीय विनय ठाकुर, नौराङावादका ३० वर्षीय मुकिम मियाँ र मिनाबजारका २८ वर्षीय महम्द एकवाल रहेका छन्।
उनीहरूले गाँजालाई रातो प्लास्टिकमा पोको पारी खैरो डोरीले बेरेर आफ्नो पेट र छातीको भागमा लुकाइछिपाइ वीरगन्जबाट भारतको रक्सौलतर्फ लैजाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य गेटबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार बरामद गरिएको गाँजाको तौल ६ किलो १८ ग्राम रहेको छ । नियन्त्रणमा लिइएका चारै जनामाथि लागु औषध सम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
