काठमाडौं । नागरिकको कानुनी पहिचान सुनिश्चित गर्न र राज्यको तथ्याङ्कीय आधार मजबुत बनाउने उद्देश्यले आजदेखि मुलुकका ७५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाइमा सुरु भएको यो अभियानले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ जस्ता घटना समयमै दर्ता गर्न जनचेतना फैलाउने लक्ष्य राखेको छ ।
आगामी सात दिनसम्म देशभरका वडा कार्यालयहरूले र्याली, अन्तर्क्रिया र घरदैलो कार्यक्रममार्फत घटना दर्ताको महत्त्वबारे जानकारी दिनेछन् । सामाजिक सुरक्षा भत्ता र राज्यका सेवाहरू लिन यो दर्ता अनिवार्य आधार भएकाले शतप्रतिशत दर्ताको लक्ष्य भेट्ने विभागको विश्वास छ ।
