वीरगन्ज । बारा जिल्लामा प्रहरीले अवैध मदिरा भट्ठी नष्ट गर्नुका साथै ठुलो परिमाणमा भन्सार छलीका सामानहरू नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मा सञ्चालित एक अवैध मदिरा भट्ठीलाई प्रहरी टोलीले फेला पारी पूर्ण रूपमा नष्ट गरेको हो।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंजखजानीबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार मिश्राको कमाण्डमा खटिएको संयुक्त टोलीले चैत २९ गते बिहान ९ बजेको समयमा उक्त कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सो क्रममा करिब १२ हजार मूल्य बराबरको २०० लिटर कच्चा पदार्थ र २ हजार मूल्य बराबरको २० लिटर तयारी मदिराका साथै उत्पादनमा प्रयोग हुने ठुला ड्रम र गेलनहरू समेत नष्ट गरिएको छ।
यसैगरी, भारतबाट नेपालतर्फ भन्सार छली गरि ल्याउँदै गरेका विभिन्न विद्युतीय तथा लत्ताकपडाका सामानहरू पनि प्रहरीले बरामद गरेको छ।
चैत २८ गते राति साढे ९ बजेको समयमा सुवर्ण गाउँपालिका वडा नम्बर १ सोलखपुर क्षेत्रबाट प्रहरी टोलीले ४ लाख सत्र हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानहरूमा २० थान सूर्य एलइडी टिभी, २० थान सूर्य ग्यास चुल्हो, २४ थान साडी र ५ थान टर्च लाइट रहेका छन्। इलाका प्रहरी कार्यालय कवहीगोठ र प्रहरी चौकी अमृतगंजखजानीको संयुक्त गस्ती टोलीले फेला पारेका यी सामग्रीहरूलाई आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
