वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय सञ्चालनमा आएको छ ।
अत्याधुनिक डिजिटल शौचालय प्रयोगका लागि निर्माण गरिएको भवनको सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ। ‘स्वच्छता नै स्वास्थ्यको आधार हो’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त अत्याधुनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रहरी उपरीक्षक सुदीप राज पाठकले यस्तो सुविधा सम्पन्न पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
उनले प्रहरीको मनोबल उच्च राख्न आधारभूत सुविधाहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै यो भवन निर्माण कार्यमा सहयोग पुर्याउने रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरप्रति विशेष आभार प्रकट गरे ।
कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण अत्यन्त सराहनीय र आवश्यक पहल भएको बताए ।
उनले स्वच्छता र स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै आधुनिक डिजिटल सुविधा युक्त स्नान तथा शौचालय भवनले सुरक्षाकर्मीहरूको दैनिक जीवनलाई सहज र मर्यादित बनाउने विश्वास व्यक्त गरे ।
अध्यक्ष खेतानले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अझ मजबुत बनाउन यस्ता योजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।
नवनिर्मित भवनले प्रहरी कर्मचारीहरूका लागि स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। ‘स्मार्ट पुलिस’ को अवधारणा अनुसार प्रविधिलाई आत्मसात गर्दै निर्माण गरिएको यो शौचालयले सुरक्षा निकायभित्र भौतिक पूर्वाधार विकासमा एउटा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
उद्घाटन समारोहमा रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत र राजु कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवाल,
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुबेदी, छ्पकैया सामुदायिक प्रहरीका अध्यक्ष गयासुदिन ठकुराई, आमा नेपाल फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धर, युवा नेता सुधिर पटेल, लायन्स क्लबकी प्रिया सिंह लगायतको सहभागिता रहेको थियो।
