काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी वीरगन्ज र समग्र पर्सा जिल्लासँग जोडिएका विभिन्न ज्वलन्त समस्याहरूका बारेमा ध्यानाकर्षण गराएका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मधेस प्रदेशका सांसदहरूसहित भएको भेटघाटका क्रममा सांसद पन्तले सिर्सिया नदीको बढ्दो प्रदूषण, किसानका लागि रासायनिक मलको अभाव, क्यासिनोको अवैध गतिविधि र महानगरपालिकाले गरिरहेको भनिएको अवैध असुलीका विषयलाई गम्भीरताका साथ उठाएको हो।
भेटका क्रममा सांसद पन्तले सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि अधिकारसम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समस्या समाधान गर्न सरकारसँग माग गरे । साथै, खेतीको समयमा किसानले भोग्नुपर्ने मलको अभावलाई सदाका लागि अन्त्य गर्न र समयमै पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
वीरगन्जका क्यासिनोहरूले नेपाली नागरिकलाई गैरकानुनी रूपमा प्रवेश गराई कतिपयको घरबार बर्बाद बनाउँदासमेत स्थानीय प्रशासन र प्रहरी मौन बसेकोमा उनले कडा आपत्ति जनाए ।
त्यस्तै वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानमा ढाट राखेर गरिरहेको असुलीका विषयमा समेत सांसद पन्तले गुनासो पोखेका थिए ।
उनका अनुसार यसबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी गराउँदा पनि जिम्मेवारी पन्छाउने काम मात्र भएको छ। सांसद पन्तका कुरा सुनेपछि प्रधानमन्त्री बालेन्द्र शाहले तत्कालै प्रहरी महानिरीक्षक र गृह सचिवलाई यस विषयमा निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे ।
जनप्रतिनिधिले उठाएका जायज मागहरूलाई स्थानीय प्रशासनले बेवास्ता गर्न नमिल्ने बताउँदै प्रधानमन्त्रीले तत्काल कदम चाल्ने आश्वासन दिएका छन्। उक्त भेटघाटमा श्रम मन्त्री दीपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत मधेस प्रदेशका अन्य सांसदहरूको उपस्थिति रहेको थियो।

