वीरगन्ज । मालपोत कार्यालय पर्सामा भएको करोडौँको राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०७०/७१ मा रजिष्ट्रेशन फाँट ‘ग’ मा संकलन भएको राजस्व बैंक दाखिला नगरी सरकारी कोषमा नोक्सानी पुर्याएको ठहर गर्दै आयोगले आज मुद्दा दर्ता गरेको हो।
अनुसन्धानका क्रममा कर्मचारीहरूले एउटै रजिष्ट्रेशन नम्बर प्रयोग गरी दुई वा तीनवटासम्म लिखतहरू पास गर्ने गरेको र कम रकम उल्लेख भएका लिखतको मात्र राजस्व बैंकमा बुझाउने गरेको पाइएको छ। बढी राजस्व संकलन भएका लिखतहरूको रकम भने लेखा फाँटमा नबुझाई, आन्तरिक लेखापरीक्षण समेत नगराई सिधै हिनामिना गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। यसरी कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको पुष्टि भएको छ।
आयोगले तत्कालीन मालपोत अधिकृत भूप बहादुर बोगटीलाई १ करोड १० लाख ६० हजार ५२४ रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको छ। यस्तै, अर्का अधिकृत सुरेन्द्र प्रसाद राव कुर्मीविरुद्ध ९९ लाख १० हजार ५१५ रुपैयाँ, हरिनारायण मिश्रविरुद्ध ३८ लाख ८० हजार ३६८ रुपैयाँ र पदम प्रसाद अर्यालविरुद्ध २१ लाख ३८ हजार १६९ रुपैयाँ बिगो दाबी गरिएको छ।
उनीहरूलाई बिगो बमोजिमको कैद सजाय र बिगोको दोब्बर जरिवाना गर्न मागदाबी गरिएको छ। यस प्रकरणमा मुख्य भूमिका देखिएका तत्कालीन नायव सुब्बा किरण प्रसाद उपाध्यायको मृत्यु भइसकेकाले उनका हकखाने चार छोराहरू राज किशोर, गौतम, पशुपती र मुरारी प्रसाद उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ।
फौजदारी कार्यविधि संहिताको व्यवस्था अनुसार सरकारी बिगो असुलउपर गर्नका लागि मात्र उनीहरूलाई प्रतिवादी कायम गरी कुल बिगो २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ दामासाहीले असुल गर्न माग गरिएको छ।

