काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा प्रकाशन र समानुपातिकतर्फका सांसदहरूको प्रमाणीकरण प्रक्रियालाई तीव्र पारेको छ । आयोगले आगामी चैतको पहिलो साताभित्रै नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
देशभरको समानुपातिकतर्फको मतगणना भोलि मङ्गलवारसम्म सकिने अनुमान छ । त्यसलगत्तै दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट सङ्ख्या निर्धारण गरिनेछ ।
सिट बाँडफाँडपछि दलहरूले आफ्नो बन्दसूचीबाट समावेशी क्लस्टर (महिला, दलित, आदिवासी जनजाति आदि) मिलाएर नाम पठाउनुपर्नेछ । ती नामहरू कानुनसम्मत भए-नभएको आयोगले सूक्ष्म अध्ययन गर्नेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चैत पहिलो हप्ताभित्र प्रमाणपत्र वितरण सम्पन्न भएसँगै नयाँ संसद्को बैठक आह्वानका लागि संवैधानिक मार्गप्रशस्त हुनेछ ।
आयोगको यो सक्रियतासँगै मुलुकले चैतभित्रै नयाँ जनप्रतिनिधि र नयाँ सरकारको आकार पाउने निश्चित देखिएको छ ।
