वीरगंज । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको नतिजा अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको मतगणनाले नयाँ समीकरण देखाएको छ। निर्वाचन आयोगका अनुसार सोमबार बिहान साढे १० बजेसम्म कुल ८३ लाख ६ हजार ६९६ मत गणना भइसकेको छ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ऐतिहासिक अग्रता कायम गरेको छ। प्रत्यक्षतर्फ १२४ सिटमा जित सुनिश्चित गरेको रास्वपाले समानुपातिकमा ४० लाख ९ हजार ५५५ मत प्राप्त गरिसकेको छ। अघिल्लो २०७९ को निर्वाचनमा चौथो शक्ति बनेको रास्वपा यसपटक समानुपातिकमा पहिलो स्थानतर्फ अग्रसर देखिएको हो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ४९ हजार ४०८ मत प्राप्त गरेको छ भने प्रत्यक्षमा ८ सिट मात्र जितेको नेकपा एमाले ११ लाख ४३ हजार ४६६ मतका साथ तेस्रो स्थानमा छ। त्यस्तै नेकपाले ५ लाख ८७ हजार ७३९ मत प्राप्त गरेको छ।
नयाँ दलहरुको उदय यसपटकको निर्वाचनमा रोचक देखिएको छ। हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ९९२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ७५ हजार १२४ मत पाएको छ।
अर्कोतर्फ मधेस केन्द्रित दलहरुलाई भने यसपटक समानुपातिकको थ्रेसहोल्ड कटाउन निकै चुनौतीपूर्ण देखिएको छ। हालसम्मको गणनामा जनता समाजवादी पार्टी (जसपा) ले १ लाख २४ हजार २०७ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १८ हजार १६५ मत मात्र प्राप्त गरेका छन्। यो तथ्यांकले मधेसवादी दलहरु राष्ट्रिय दल बन्न आवश्यक न्यूनतम मत प्राप्त गर्न संघर्ष गरिरहेको संकेत गर्छ।
