वीरगंज । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भए पनि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भइसक्दा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु स्थापित विधि र कानुन विपरीत भएको उल्लेख गर्नुभएको छ ।
वक्तव्यमा उल्लेख भए अनुसार निर्वाचन आयोगको गत फागुन १८ गतेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको थियो । उम्मेदवारी खारेज भइसकेको अवस्थामा शान्तिपूर्ण मतदान र मतगणना सकिएर यादव विजयी हुँदा समेत प्रमाणपत्र दिन आलटाल गरिनु चिन्ताजनक विषय भएको पार्टीले जनाएको छ ।
आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम नै सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा गणना सम्पन्न भएको वक्तव्यमा स्पष्ट पारिएको छ । उम्मेदवारी नै नरहेको व्यक्तिसँग सम्बन्धित विषय देखाएर प्रमाणपत्र रोक्नु कानुनसम्मत नदेखिने नेकपाको दाबी छ ।
पार्टीले निर्वाचन आयोग जस्तो संवैधानिक निकायलाई कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न र विधिको शासन पालना गर्न आग्रह गरेको छ । साथै, यस सम्बन्धमा न्यायालयबाट पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय हुने विश्वास वक्तव्यमार्फत व्यक्त गरिएको छ ।
