दार्चुला । जिल्लाको अपि हिमाल गाउँपालिका र नौगाड गाउँपालिकाका दुई मतदान केन्द्रमा स्थानीयले पूर्ण रूपमा मतदान बहिष्कार गरेका छन्। माग पूरा नभएको भन्दै स्थानीयले ‘नो भोट’ अभियान चलाएपछि ती केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन।
नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर आधारभूत विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन् भने अपि हिमाल गाउँपालिका–३ स्थित दुधिला माध्यमिक विद्यालय मतदान केन्द्रमा ३४६ मतदाता रहेका छन्। तर स्थानीय मतदाता मतदानस्थलमा उपस्थित नभएपछि दुवै केन्द्रमा कुनै पनि मत खस्न सकेको छैन।
स्थानीयवासीले २०७४ सालमा गरिएको अपायक वडा विभाजन खारेज गर्नुपर्ने र क्षेत्रको समग्र विकासका लागि ठोस पहल हुनुपर्ने माग गर्दै मतदान बहिष्कार गरेका हुन्।
समस्या समाधानका लागि बुधबार सुदूरपश्चिम प्रदेशका मुख्य सचिव बैकुण्ठ अर्याल नेपाली सेनाको हेलिकप्टरमार्फत नागु पुगेर स्थानीयसँग छलफल गरेका थिए। तर छलफलबाट सहमति जुट्न नसकेपछि स्थानीयले आफ्नो अडान कायम राखेका छन्। यसअघि माघ २४ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले पनि स्थानीयलाई मतदानमा सहभागी गराउन प्रयास गरेको थियो, तर त्यो प्रयास पनि सफल हुन सकेन।
नागु विकास संघर्ष समितिका संयोजक करन सिंह डडालका अनुसार सरकारबाट ढिलो गरी प्रस्ताव आएको र जनताको माग स्पष्ट रूपमा सम्बोधन नभएकाले मतदान नगर्ने निर्णय यथावत राखिएको हो।
मतदान अधिकृतहरू केन्द्रमा उपस्थित रहे पनि स्थानीयको बहिष्कारका कारण दुवै मतदान केन्द्रमा हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन।
