दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित एक मतदान केन्द्रमा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। मतदानमा खटिएका कर्मचारीमाथि केही व्यक्तिले हातपात गर्ने प्रयास गरेपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो।
प्रशासनका अनुसार निर्वाचनमा खटिएका कर्मचारीमाथि आक्रमणको प्रयास भएपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेका हुन्।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार कर्मचारीको सुरक्षामा खतरा उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको हो।
घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले मतदान प्रक्रियालाई पुनः सुचारु गराउने प्रयास भइरहेको जनाएको छ।
