कलैया, बारा । बाराको सिम्रौनगढमा खटिएका एक निर्वाचन अधिकृत मतदानकै क्रममा अचानक बेहोस भएका छन्।
सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी श्याम प्रसाद साह बिहीबार कार्यक्षेत्रमै बेहोस भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (SP) नरेन्द्र कुँवरका अनुसार मतदान प्रक्रिया चलिरहेकै बेला साह अचानक ढलेका थिए। उनलाई तत्कालै प्राथमिक उपचार गरी थप उपचारका लागि बाराकै स्थानीय अस्पतालमा पठाइएको छ।
अधिकृत बेहोस भएपछि केही बेर अन्योल छाए पनि सुरक्षा निकाय र निर्वाचन कार्यालयले वैकल्पिक व्यवस्था गरी मतदान प्रक्रियालाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। साहको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र गर्मी वा कार्यबोझका कारण स्वास्थ्यमा समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ।