चितवन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल राजनीतिमा चर्चामा रहेको ‘नयाँ र पुरानो’ शक्तिबीचको बहसले देशलाई सही दिशा नदिने टिप्पणी गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आज बिहान चितवन–३ स्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
राजनीतिलाई समयका आधारमा ‘नयाँ र पुरानो’ भन्नु भन्दा पनि विचार र कामका आधारमा ‘सही र गलत’ भनेर मूल्याङ्कन गरिनुपर्छ। कुन दलले देशको नेतृत्व गर्न सक्छ भन्ने फैसला उसको योजना, नीति र कार्यक्रमका आधारमा हुनुपर्दछ। मतदाताहरूले कुनै पनि भाष्यको पछि नलागी आफ्नो विवेक प्रयोग गरेर सही पक्षको छनोट गर्नुपर्छ।
प्रचण्डको यो अभिव्यक्तिले निर्वाचनमा उदय भएका नयाँ शक्ति र स्थापित पुराना दलहरूबीच भइरहेको वैचारिक द्वन्द्वलाई संकेत गरेको छ।
