मलङ्गवा, सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ को बसबरिया गाउँपालिका–३ स्थित भवानीपुरको जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान केही समय तनाव उत्पन्न भएको छ।
मतदान सुरु भएको केही समयपछि मतदाताबीच सामान्य विषयमा भनाभन भएपछि विवाद चर्किएको थियो। विवादका कारण उक्त मतदान केन्द्रमा झन्डै आधा घण्टा मतदान प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको थियो।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हस्तक्षेप गर्दै थप सुरक्षा व्यवस्था कडा बनाएका थिए। त्यसपछि अवस्था सामान्य बनेसँगै रोकिएको मतदान कार्य पुनः सुरु गरिएको हो।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार हाल उक्त केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। मतदाताहरू लाइनमा बसेर मतदान गरिरहेका छन्।
यसैबीच जिल्लाका अन्य मतदान केन्द्रहरूमा भने मतदान कार्य निर्वाध रूपमा जारी रहेको छ। संवेदनशील मानिएका केन्द्रहरूमा सुरक्षा गस्ती समेत थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
