काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार आज दिनभरमा सम्पूर्ण मतपत्र छपाइ सम्पन्न हुनेछ।
केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले प्रत्यक्षतर्फका कुल २ करोड ३ लाख मतपत्रमध्ये अब बागमती प्रदेशका ५ लाख मतपत्र मात्र छाप्न बाँकी रहेको जानकारी दिए। ती मतपत्र आजै छापिसक्ने लक्ष्य राखिएको छ।
४२ दिनको कार्यतालिका बनाएर सुरु गरिएको छपाइ कार्य लक्ष्यभन्दा दुई दिन अगावै अर्थात् ४०औँ दिनमै सम्पन्न हुन लागेको हो। प्रबन्ध सञ्चालक पौडेलका अनुसार दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरिएको थियो। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ यसअघि नै सकिसकेको छ। निर्वाचन आयोगले १० लाख नमूना मतपत्र विभिन्न स्थानमा पुर्याइसकेको छ।
मतपत्र छपाइ सकिएसँगै प्याकिङ गरेर बाँकी जिल्लाहरूमा ढुवानी गर्ने तयारी गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि फागुन १२ गतेभित्र पुर्याउने गरी काम भइरहेको केन्द्रले जनाएको छ।
अहिले छापिएका मतपत्रहरू नेपाली सेनाको सुरक्षा घेरामा सुरक्षित रूपमा प्याकिङ र ढुवानी भइरहेको छ।
