मलंगवा। सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार राति अज्ञात समूहले गोली प्रहार गरी एक सब-इन्जिनियरको हत्या गरेको छ। जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवको आफ्नै निवास अगाडि हत्या भएको हो।
आइतबार बेलुका करिब ८:०५ बजे मलंगवा-१० देवीटोलस्थित डेरामा बसिरहेका यादवमाथि घरकै प्यासेजमा गोली प्रहार भएको थियो। गोली लागेर छटपटाइरहेको अवस्थामा उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।
गम्भीर घाइते यादवलाई प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले राति ८:३७ बजे मृत घोषणा गरेका थिए। मृतक यादवको स्थायी घर सिरहाको सुखीपुर-६ बैशाखा हो।
घटनालगत्तै एसपी योगेन्द्र कुमार खड्काको नेतृत्वमा २५ जनाको विशेष टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट करिब २ किलोमिटरको दूरीमा भएको यस घटनापछि प्रहरीले जिल्लाका सबै नाकाहरू सिल गरी फरार समूहको खोजी र घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ।
