मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका कतिपय मतदानस्थलहरू सदरमुकाम जोमसोमदेखि १०० किलोमिटरभन्दा बढीको दूरीमा रहेका छन्। नेपाल–चीन सीमावर्ती कोरलानाका नजिकका मतदान केन्द्रहरू भौगोलिक रूपमा निकै टाढा हुँदा निर्वाचन व्यवस्थापनमा चुनौती देखिएको छ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड यी गाउँपालिकाका मतदानस्थलहरू जोमसोमबाट १०० किलोमिटरभन्दा टाढा छन्। ६ वटा मतदानस्थल रहेको लोमान्थाङ पुग्न सवारीसाधनबाटै ६ देखि ७ घण्टा लाग्छ। लोमान्थाङमा २,०११ र लोघेकर दामोदरकुण्डमा १,५४२ मतदाता छन्। समग्र जिल्लाभर ३९ मतदानस्थलमा कुल ११,३२८ मतदाता कायम रहेका छन्।
राष्ट्रिय राजमार्गसँग जोडिएका स्थानमा केही सहज भए पनि शाखा सडकमा रहेका केन्द्रहरूमा पुग्न घण्टौँ लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताएका छन्। भौगोलिक दूरीका कारण मतदान सकिएपछि मतपेटिका सदरमुकाम जोमसोम पुर्याउन राति १२ बजेसम्म लाग्ने अनुमान गरिएको छ।
हिमपात र चिसोको जोखिमका बीच निर्वाचन कार्यालयले ३९ वटै मतदानस्थलमा सुरक्षा र कर्मचारी व्यवस्थापनको तयारी तीव्र पारेको छ।
