लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक दल र उम्मेदवारहरूलाई चुनाव जित्ने नाममा पूरा गर्न नसकिने आश्वासन नदिन आग्रह गरेका छन्। सोमबार लमजुङमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन उद्घाटन तथा बीपी कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा शर्माले चुनावी मैदानमा उत्रँदा एकअर्कालाई गाली गर्नुभन्दा स्वस्थ प्रतिस्पर्धामा जोड दिनुपर्ने बताए। “चुनावी मैदानमा गाली होइन, प्रेम सम्प्रेषण गरौँ। स्वस्थ आलोचना स्वाभाविक हुन्छ, तर एकअर्कालाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न,” उनले भने। उनले दलहरूका भाषण र घोषणापत्रहरूले समाजमा आशा जगाउनुपर्नेमा जोड दिँदै सस्तो लोकप्रियताका लागि दिइने आश्वासनले अन्ततः जनतामा निराशा मात्रै पैदा गर्ने जिकिर गरे।
उपसभापति शर्माले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट बदलिएको दाबी गर्दै शासन व्यवस्थामा सुधारका लागि ‘१, २, ३ र ४’ को नीति अघि सारेका छन्। उनले कोही पनि व्यक्ति आजीवन सत्तामा बसिरहने परम्पराको अन्त्य हुनुपर्ने बताउँदै यसलाई संविधानमै अंकित गरिनुपर्ने बताए।
उनका अनुसार यो नीतिको अर्थ यस्तो रहनेछ राष्ट्रपति एक कार्यकाल मात्र, प्रधानमन्त्री बढीमा दुई कार्यकाल, मन्त्री बढीमा तीन कार्यकाल र सांसद बढीमा चार कार्यकाल।
“अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था हामी गर्नेछौँ,” शर्माले थपे।
देशको युवा पुस्ता (जेनजी) को विद्रोह र भावनालाई कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै उनले देशको शासनमा आवश्यक सुधारका लागि पार्टीले सुक्ष्म अध्ययन (केस्रा-केस्रा केलाएको) गरेको बताए। “देश जान्दछ कांग्रेस बदलिएको छ, र यो पनि देश जान्दछ कि जो आफैँ बदलिन्छ, उसैले मात्र देश बदल्न सक्छ,” उनले आत्मविश्वासका साथ भने।
कार्यक्रममा उनले लमजुङ कांग्रेसको नवनिर्मित भवनको उद्घाटन गर्नुका साथै जननायक बीपी कोइरालाको पूर्णकदको सालिक समेत अनावरण गरेका थिए।
