वीरगञ्ज । वीरगञ्जमा निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका वडा नं.– १० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोष्टरहरु टाँसिरहेको अवस्थामा २० वर्षीय विधान पुलामी मगर पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको विशेष प्रहरी टोलीले आदर्शनगर क्षेत्रमा गस्ती गर्ने क्रममा मगरलाई शंकास्पद रूपमा पोस्टर टाँसिरहेको फेला पारेको थियो। वीरगञ्ज महानगरपालिका वडा नं.– १६ भन्सार क्षेत्र बस्ने मगरलाई तत्कालै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिमाथि निर्वाचन विरोधी गतिविधि अन्तर्गत आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान भइरहेको छ।
आगामी निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको समयमा यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।
