काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र ढुवानी सुरु गरेको छ। छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका लागि मतपत्र सम्बन्धित जिल्लामा पठाउन थालिएको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको हो।
आयोगका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भइसकेको छ। कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छापिसकिएको छ।
यसअघि डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभाका मतपत्र छपाइ सम्पन्न भइसकेका छन्।
त्यस्तै सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकका मतपत्रसमेत छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।
हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ तथा १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको तयारी छ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको आयोगले जानकारी दिएको छ।
