वीरगन्ज । साउथजोन माध्यामिक विद्यालयको १७ औं स्थापना दिवस बिहीबार भव्य रुपमा सम्पन्न भएको छ । स्थापना दिवसको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका थिए ।
उद्घाटनपछि बोल्दै मेयर सिंहले बालबालिकालाई दबावमा भन्दा रुची अनुसार अध्ययन गर्न दिनुपर्नेमा जोड दिए । उनले आफ्ना सन्तानहरु डाक्टर, इञ्जिनियर होस भन्ने आम अभिभावकको चाहाना हुने गरेको भन्दा समाजमा अन्य विषय र क्षेत्रमा पनि विद्यार्थीहरुले आफ्नो भविष्य बनाउन सक्ने बताए ।

निजी विद्यालयहरुमा छात्रवृत्तिको नाममा सरकारी कर्मचारीहरु तथा अन्य हुनेखानेहरुका छोराछोरीहरुलाई अवसर पाउने गरेको गुनासो आएकोले छात्रवृत्ति साँच्चिकै आवश्यक विद्यार्थीहरुको लागि हुनुपर्ने बताए ।
जेन्जी आन्दोलनमा भएको आगजनीले वीरगन्ज महानगरपालिकाले यसपटक छात्रवृत्ति छनोट गर्न नसकेको जनाउदै विद्यालयहरुलाई नै छात्रवृत्ति वितरण गर्न जिम्मा दिएको बताए ।

विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईराला, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहाकार डा.हरिशंकर साह, मधेस प्रदेशका प्राज्ञिक सल्लाहाकारहरु मणी पाख्रिन, लालबाबु पटेल, श्याम केसी लगायत प्याब्सन जिल्लाका पदाधिकारीहरु, अभिभावकहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

वीरगन्ज बाईपास स्थित ‘वण्डर वर्ल्ड’ मा आयोजना गरिएको स्थापना दिवसमा विद्यालयको कक्षा नर्सरीदेखि नौसम्मका विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलले सम्मान गर्नुका साथै कक्षा नर्सरीदेखि ९ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।
बिहीबार नै साउथजोन– सिङिङ आईडल–७ को प्रतिस्पर्धा पनि गराईएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले गरेका थिए ।
