वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तलाई ताजपुरका स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन्। चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका लागि ताजपुर पुगेका पन्तलाई स्वागत गर्न स्थानीयले गाउँका चोक र चौतारीहरूमा रङ्गको प्रयोग गरी ‘घण्टी’ चिन्ह बनाएका थिए।
आफ्नो क्षेत्रमा रास्वपाका उम्मेदवार पन्त आएपछि उत्साहित भएका मतदाताले टोल–टोलमा घण्टी चिन्ह बनाएर समर्थन जनाएका हुन्।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले मुलुकमा राजनीतिक परिवर्तनको खाँचो रहेको र त्यसको संवाहक राष्ट्रिय स्वतन्त्र पार्टी नै भएको धारणा राखेका थिए। “देशमा अब परिवर्तन निश्चित छ। राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चिन्हले नै देशलाई नयाँ गति दिने विश्वास हामीमा छ। त्यसैले यसपटक हामी घण्टीमा मतदान गर्न तयार छौँ।” घरदैलो कार्यक्रममा युवादेखि वृद्धवृद्धासम्मको उत्साहजनक उपस्थिति रहेको थियो।
घरदैलोका क्रममा उम्मेदवार हरि पन्तले रास्वपाको जित केवल एक व्यक्तिको जित नभएर समग्र देशकै जित हुने दाबी गरे। उनले भने:
“मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान यसपटक मतदाताहरूले सोच–विचार गरेर मतदान गर्नुपर्छ। रास्वपाले जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता बोकेको छ, त्यसैले मलाई र घण्टी चिन्हलाई जिताउन म सम्पूर्णमा विनम्र आग्रह गर्दछु।”
ताजपुरमा भएको यो जनलहरले पर्सा क्षेत्र नं. १ मा रास्वपाको प्रभाव बलियो हुँदै गएको संकेत गरेको छ।
