काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरूमा पनि तोकिएकै मिति अर्थात् आगामी फागुन २१ गते नै प्रतिनिधि सभाको निर्वाचन हुने स्पष्ट पारेकी छन्। बिहीबार हिमाली क्षेत्रको निर्वाचन तयारी र वस्तुस्थिति बुझ्न सोलुखुम्बु आइपुगेकी प्रधानमन्त्री कार्कीले निर्वाचनको मिति नसर्ने भन्दै ढुक्क हुन आग्रह गरिन्।
प्रधानमन्त्री कार्की बिहीबार बिहान हेलिकोप्टरमार्फत सोलुखुम्बुको नाम्चे र त्यसपछि सदरमुकाम सल्लेरी पुगेकी थिइन्। उनले नाम्चेमा स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया गरिन् भने सल्लेरीमा जिल्लाका सरोकारवाला निकायहरूसँग निर्वाचनको तयारीबारे विस्तृत ब्रिफिङ लिएकी थिइन्।
जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्:
“मौसम र अन्य प्राविधिक कठिनाइका कारण हिमाली जिल्लामा चुनाव सर्छ कि भन्ने शंका नगर्नुहोस्। सरकारले सुरक्षा र व्यवस्थापकीय तयारी मजबुत बनाएको छ, फागुन २१ मै देशभर एकै चरणमा मतदान हुन्छ।”
छलफलका क्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल र प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जिल्लाको सुरक्षा अवस्था र निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
ब्रिफिङका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सोलुखुम्बुका १२३ मतदान स्थल मध्ये हिमाली क्षेत्रका ७ वटा स्थलमा हिउँ परे पनि निर्वाचन गराउन समस्या नहुने बताएकी थिइन्। विगतका वर्षहरूमा फागुन तेस्रो सातातिर ठूलो हिमपात नभएकाले निर्वाचन सहज रूपमा सम्पन्न हुनेमा जिल्ला प्रशासनले प्रधानमन्त्रीलाई आश्वस्त पारेको छ।
प्रधानमन्त्रीले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सबै संयन्त्र परिचालित भएको उल्लेख गर्दै मतदाताहरूलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरिन्। प्रधानमन्त्रीको टोलीमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल समेत सहभागी थिए।
