काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता तथा पूर्व उम्मेदवार डा. प्रणय शमशेर राणाले पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएका छन्। उनले बिहीबार पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा राणाले पार्टी स्थापना कालको मुख्य नारा ‘बेथितिको अन्त्य र थितिको थालनी’ व्यवहारमा उल्टो भएको आरोप लगाएका छन्। उनका अनुसार पार्टीभित्रको अभ्यासले “थितिको अन्त्य र बेथितिको थालनी” भएको अवस्था सिर्जना गरेको छ।
राणाले पार्टीभित्र आन्तरिक निर्वाचन प्रणाली (प्राइमरी इलेक्सन) र आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन्। प्राइमरी चुनावमा सधैं ५० प्रतिशतसम्म चलखेलको बाटो खुला राखिएको र हाल ‘विशेष परिस्थिति’ को नाममा संगठनले आफ्नै नेतृत्व छान्ने अधिकार समेत खोसिएको उनको दाबी छ।
त्यस्तै, सदस्यता शुल्क बापत उठाइएको १,००० रुपैयाँमध्ये ३०० रुपैयाँ स्थानीय पालिकामा पठाउने भनिए पनि उक्त रकम कहिल्यै नपठाइएको आरोप उनले लगाएका छन्। निर्वाचनका लागि उठाइएको ठूलो रकमको प्रयोगमा समेत अपारदर्शिता र अपचलन भएको उनको भनाइ छ।
पार्टीभित्र सुधारका लागि पटक–पटक प्रयास गरे पनि सफल हुन नसकेको उल्लेख गर्दै राणाले विवेक र इमानका कारण मुकदर्शक भएर बस्न नसकेको बताएका छन्। राजीनामा पत्रमा उनले लेखेका छन्, “आफ्नो आन्तरिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिनँ र अन्धभक्ति गर्न पनि चाहन्न।”
उनले केन्द्रमा रहेका पदाधिकारीहरू नै बेथितिको साझेदार बनेको आरोप लगाउँदै केही बोल्ने नेताहरूको अवस्था सबैले देखिसकेको टिप्पणी गरेका छन्।
पछिल्लो समय रास्वपाभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको देखिन्छ। कात्तिक २८ गते नेता सन्तोष परियारले वामपन्थी धारमा सक्रिय हुने घोषणा गर्दै पार्टी परित्याग गरेका थिए। त्यसअघि पूर्वमन्त्री एवं नेतृ सुमना श्रेष्ठले पनि राजीनामा दिइसकेकी छिन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका राणाको बहिर्गमनलाई रास्वपाभित्र बढ्दो आन्तरिक संकटको संकेतका रूपमा हेरिएको छ।

