काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसका आधारमा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा बिहीबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको उल्लेख छ। उक्त संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिलाई संघीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने अधिकार रहेको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल माघ २६ गते बसेको बैठकले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा राष्ट्रपतिले अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो।
अधिवेशन अन्त्यसँगै राष्ट्रियसभामा विचाराधीन विधेयक तथा अन्य कार्यसूचीहरू अब आगामी अधिवेशनमा मात्र अघि बढ्नेछन्। नयाँ अधिवेशन आह्वानबारे भने हालसम्म औपचारिक घोषणा गरिएको छैन।

