काठमाडौं । प्रत्यक्षतर्फको मनोनयन दर्ता पछिको तीन सातामा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने करिब ५० जनालाई स्पष्टीकरण सोधेको छ। यसपटक भौतिक उपस्थितिका तुलनामा सामाजिक सञ्जाल (भर्चुअल) मार्फत गरिएका उल्लंघनका घटनाहरू बढी देखिएका छन्।
सामाजिक सञ्जालको दुरुपयोग अधिकांश स्पष्टीकरण फेसबुक र टिकटकमा गरिएका घृणास्पद अभिव्यक्ति, द्वेषपूर्ण टिप्पणी र अमर्यादित पोष्टसँग सम्बन्धित छन्। शोभा पाठक, बालेन शाह, माधव सापकोटा लगायतका उम्मेदवारहरू यसमा मुछिएका छन्।
विवादास्पद अभिव्यक्ति जातीय, साम्प्रदायिक र लैंगिक भावनामा आँच पुर्याउने अभिव्यक्ति दिएको भन्दै डा. सुरेन्द्र भण्डारी, महेश बस्नेत र खगेन्द्र सुनारसँग आयोगले जवाफ मागेको छ।
सरकारी स्रोतको प्रयोग सरकारी गाडीमा झण्डा हालेर हिँडेको, कर्मचारीलाई प्रचारमा प्रयोग गरेको र विद्यालय परिसरमा नाचगान गरेको जस्ता आरोपमा दामोदर भण्डारी, वर्षमान पुन र केही स्थानीय तहका जनप्रतिनिधिहरू स्पष्टीकरणमा परेका छन्।
मनोनयनका क्रममा भीडभाड २५ जनाभन्दा बढीको जुलुस र बाजागाजासहित मनोनयन दर्ता गर्न गएको भन्दै जगदीश खरेल, विश्वराज पोखरेल र शक्तिबहादुर बस्नेतमाथि उजुरी परेको छ।
संस्थागत उल्लंघन आचारसंहिता लागू भएपछि अनुमति बिना साधारणसभा र नियुक्ति गर्ने एन्फा, राखेप, पूर्वाञ्चल विश्वविद्यालय र केही गुठीहरूलाई पनि आयोगले सचेत गराउँदै स्पष्टीकरण सोधेको छ।
आयोगले प्राप्त स्पष्टीकरणहरूमाथि अध्ययन भइरहेको र दोषी ठहरिए कानुन बमोजिम कारबाही हुने जनाएको छ।

