वीरगन्ज । चितवन र पर्साका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोलीले बैंकिङ कसूर र लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चितवनको भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय अपिल बराल र पर्साको कालिकामाई गाउँपालिका–३ का ४५ वर्षीय ललन पासवान रहेका छन्।
प्रमिला गिरीको जाहेरीले नेपाल सरकार वादी भएको बैंकिङ कसूर मुद्दामा बराललाई १५ लाख ७२ हजार रुपैयाँ जरिवाना र ३ दिन कैदको सजाय सुनाइएको थियो। उनलाई माघ २८ गते बिहान भरतपुर–९ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, लागुऔषध गाँजा तथा चरेश मुद्दामा दोषी ठहर भएका ललन पासवानलाई माघ २७ गते साँझ वीरगञ्ज–६ बाट पक्राउ गरिएको हो।
पर्सा जिल्ला अदालतले २०७९ कात्तिक २२ गते उनलाई १ वर्ष ६ महिना कैदको फैसला सुनाएको थियो। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रियाका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

