वीरगन्ज । धार्मिक कार्यमा दलितलाई निषेध गरेपछि कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ विरञ्चिवर्वामा हुन लागेको विष्णु महायज्ञमा स्थानीय कथित उपल्लो जातका व्यक्तिहरुले दलित समुदायलाई यज्ञ सहभागी नगराउन खोजेको भन्दै कानूनी कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
विरञ्चिवर्वाका स्थानीय जगदीश प्रसाद कुर्मी, शम्भु प्रसाद कुर्मी विरुद्ध सोही स्थानका सोनालाल हजरा, नागिन्दर हजरा, हिरदेश हजरा, देवनारायण हजरा र कमलेश हजराले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
उनीहरुले विष्णु महायज्ञमा सहभागी नगराउने भनेपछि दलित समुदायले पटक पटक आग्रह गर्दा समेत दलित भनेर हेप्ने र जातीय विभेद गरेको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई लिखित निवेदन दिएको बताए ।
प्रमुख जिल्ला अधिकारी दाहालले पनि निवेदन आएको बताउदै त्यसमा के कस्तो भएको हो आवश्यक छानविन गर्न जिल्ला प्रहरी कार्यालयमा लेखेर पठाएको बताए ।

