काठमाडौँ। ओखलढुंगामा वृद्ध दम्पतीको निर्मम हत्या प्रकरणमा संलग्न अभियुक्तहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ दिनपछि काठमाडौंबाट पक्राउ गरेको छ।
सीआईबीको टोलीले चिशंखुगढी गाउँपालिका–६ निवासी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया पत्नी चन्द्रमाया राईको हत्या आरोपमा ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ का बासिन्दा हुन्।
प्रहरीका अनुसार १२ माघको राति लुटपाट गर्ने उद्देश्यले अभियुक्तहरू काठमाडौंबाट ओखलढुंगा पुगेका थिए। रातकै समयमा राई दम्पतीको हत्या गरी उनीहरू फरार भएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
घटनापछि खाटको छेउमा भुइँमा सिरक ओडेको अवस्थामा राई दम्पती मृत फेला परेका थिए। हत्यामा प्रयोग भएको कोदालोसहित प्रहरीले घटनासँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको छ।
पक्राउ परेकाहरूको कोठाबाट मृतकले प्रयोग गर्ने मोबाइल फोन, अभियुक्तहरूले प्रयोग गरेका दुई थान मोबाइल, लुटिएका १५९ थान रिचार्ज कार्ड, मृतकबाट लुटिएको कानको एक जोर मारवाडी, एक थान सिक्री, सी माला तथा नगद १२ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा अभियुक्तहरूले अन्य व्यक्तिले थाहा पाउन सक्ने डरले रातको समयमा मात्र गाउँ गएको र हत्या गरेर सोही राति फरार भएको खुलेको छ। काठमाडौं फर्किने क्रममा बसको टिकट काट्दा समेत उनीहरूले वास्तविक नाम लुकाई अर्कै नाम प्रयोग गरेको पाइएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि चिशंखुगढी गाउँपालिका–६ मै १५ पुसमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया पत्नी रत्नमाया थापा मगरको लुटपाटका क्रममा हत्या भएको थियो। उक्त घटनामा संलग्न आरोपमा चिसाङ गाउँपालिका–३ का २८ वर्षीय मिलन भनिने संगम राई, चिसाङ–४ का ४० वर्षीय विनोद राई, ४० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय अशोक भुजेल पक्राउ परेका थिए। उनीहरू हाल पुर्पक्षका लागि कारागारमा रहेका छन्।

