वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार अमिताभ बच्चन दासले घरदैलो अभियानलाई व्यापक बनाउँदै जनसम्पर्क बढाउनुभएको छ।
आइतबार उम्मेदवार दासले पर्सागढी नगरपालिका–१ स्थित कोईलाभार क्षेत्रमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको हो। “परिवर्तनका लागि युवा र भरोसाको केन्द्र” भन्ने नारासहित चुनावी मैदानमा उत्रनुभएका दासलाई स्थानीय बासिन्दाले उत्साहपूर्वक स्वागत गरेका थिए।
घरदैलोका क्रममा स्थानीय मतदाताहरूले युवाको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै यसपटक ‘आँखा’ चुनाव चिह्नमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनीहरूले चुनाव जितेपछि पनि निरन्तर जनताको सुख–दुःखमा साथ दिन र नियमित रूपमा जनसम्पर्क कायम राख्न सुझाव दिएका थिए।
जनताको सक्रिय सहभागिता र समर्थनले थप उर्जा मिलेको बताउँदै उम्मेदवार दासले जनभावना अनुरूप काम गर्ने र क्षेत्रको समग्र विकासका लागि सधैँ प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले ‘आँखा’ छापमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग अपिलसमेत गर्नुभएको छ।
कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

