काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले ‘मतदाता शिक्षा’ कार्यक्रमलाई देशभर तीव्र रूपमा अगाडि बढाएको छ । आम मतदातालाई मताधिकारबारे सचेत गराउन र बदर मतको संख्या घटाउन आयोगले डिजिटल प्लेटफर्मसँगै अब गाउँ-गाउँमा स्वयंसेवक परिचालन गर्न लागेको हो ।
निर्वाचन आयोगले डिजिटल माध्यमबाट सचेतना सामग्री सम्प्रेषण गरिरहेको भए पनि त्यसलाई थप प्रभावकारी बनाउन माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यस कार्यक्रमअन्तर्गत देशभरका प्रत्येक स्थानीय तहका हरेक वडामा एक-एक जना स्वयंसेवक परिचालन गरिनेछ ।
स्वयंसेवक छनोटका लागि आयोगले निश्चित मापदण्ड समेत तय गरेको छ । सम्बन्धित निर्वाचन कार्यालयले स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका, सामुदायिक अध्ययन केन्द्रका परिचालक निम्नलिखित जनशक्तिमध्येबाट स्वयंसेवक छनोट गर्नेछन् ।
मतदातालाई सही मतसंकेत गर्न प्रशिक्षित गर्ने र मिथ्या सूचनाको पहिचान गर्ने क्षमता अभिवृद्धि गर्ने आयोगको मुख्य उद्देश्य रहेको छ । आयोगका अनुसार, प्रभावकारी मतदाता शिक्षाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
मतदाता शिक्षा सामग्रीलाई व्यापक बनाउन आयोगले विभिन्न सरकारी सञ्चारमाध्यम र नियामक निकायहरूसँग सम्झौता गरिसकेको छ । यस कार्यमा राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र प्रेस काउन्सिल नेपालले समन्वय गरिरहेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले मतदाताको पहुँच पुग्ने गरी सूचना र प्रशिक्षणलाई वडाका कुना-काप्चासम्म पुर्याउने लक्ष्य लिएको छ ।
