काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो।
शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो। खलनायकदेखि चरित्र अभिनेतासम्म विभिन्न भूमिकामा सशक्त अभिनयमार्फत उहाँले दर्शकमाझ अलग पहिचान बनाउनु भएको थियो।
नेपाली चलचित्रसँगै भारतीय चलचित्र उद्योगमा समेत अभिनय गर्नुभएका थापाले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली कलाकारको प्रतिनिधित्व गर्नुभएको थियो।
थापाको निधनसँगै नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रले एक अनुभवी, लोकप्रिय र समर्पित कलाकार गुमाएको छ। उहाँप्रति कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
