काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र नियन्त्रित बनाउन उम्मेदवार तथा राजनीतिक दललाई निजी बैंक खाताबाट चन्दा संकलन गर्न निषेध गरेको छ।
आयोगले स्वीकृत गरेको ‘निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२’ अनुसार अब निर्वाचन प्रयोजनका सबै आर्थिक कारोबार छुट्टै खोलिएका अभियान बैंक खातामार्फत मात्रै गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार उम्मेदवार र दलले निर्वाचन प्रचारका लागि अनिवार्य रूपमा छुट्टै खाता खोल्नुपर्नेछ। यसअघि निजी खातामा संकलित चन्दा नयाँ खातामा सार्नुपर्ने व्यवस्था गरिएको छ। अभियान खाताहरू निर्वाचन अनुगमन अधिकृतको निगरानीमा रहनेछन् र उल्लंघन भएमा कारोबार रोक्का गर्न सकिनेछ।
आयोगले प्रति उम्मेदवार २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च सीमा तोकेको छ। निर्वाचनपछि ३५ दिनभित्र अभियान खाता बन्द गर्नुपर्नेछ भने बैंकहरूले कारोबार विवरण ६ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ।
