काठमाडौँ। चर्चित गायिका ज्योति मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका कलाकार, पत्रकार र नयाँ अनुहारहरूमाथि कडा प्रश्न उठाएकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उम्मेदवारहरूको क्षमता र नियतमाथि प्रश्न उठाएकी हुन्।
गायिका मगरले देशलाई दीर्घकालीन निकास दिने स्पष्ट योजना र भिजन नभएका व्यक्तिहरू केवल संसद पदको लोभमा राजनीतिमा होमिएको आरोप लगाएकी छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले उम्मेदवारहरूलाई सोधेकी छन्:
“तपाईंमा के भिजन छ, जसले देशलाई दीर्घकालीन निकास देओस्? तपाईंमा के भिजन छ, जसले देश स्वाधीन र समृद्ध रहोस?”
उनले घण्टी चुनाव चिन्ह लिएर उठेका नयाँ उम्मेदवारहरू आफ्नो वास्तविक दक्षता र क्षमताको मूल्याङ्कन नगरी केवल ‘संसद पड्काउने’ होडबाजीमा लागेको भन्दै चेतावनी समेत दिएकी छन्।
रास्वपाका समर्थकहरूले गर्ने टिप्पणीप्रति लक्षित गर्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्। “आजभोलि रास्वपाका चटकेहरूले तिनका उम्मेदवारको गैरजिम्मेवार तर्कको टिप्पणी गर्दा सिधै केपीको हलानो, एमालेको हलानो भन्दै गाली बक्न थाल्छन्। हैन, देश त केपी र एमालेमय नै रैछ,” उनले व्यङ्ग्य गरेकी छन्।
मगरले समानुपातिक उम्मेदवारहरू सरकारी सेवा सुविधा र व्यक्तिगत लाभको घेरामा फस्न सक्ने भन्दै कटाक्ष गरेकी छन्। उम्मेदवारहरूलाई भविष्यप्रति सचेत गराउँदै उनले लेखेकी छन्:
“५ वर्ष त पुलिसले स्यालुट हान्ला, सरकारले सेवा सुविधा देला, सरकारी कर्मचारीदेखि व्यवसायी–माफियाले काँधमै चढाउलान्, त्यसपछि के?”
निर्वाचनको मिति नजिकिँदै गर्दा कलाकार क्षेत्रबाटै आएको यो तिखो टिप्पणीले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ।
