जनकपुरधाम । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ राजनीतिक भेटघाटका लागि मधेश झर्नुभएको छ।
बुधबार जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष घिसिङले बिहीबार बिहान प्रसिद्ध जानकी मन्दिरमा पूजा–अर्चना गर्दै आफ्नो मधेश यात्राको औपचारिक सुरुवात गर्नुभएको हो। धार्मिक अनुष्ठानपछि उहाँले जनकपुरको जनकचोकमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनका विषयमा पार्टीको धारणा सार्वजनिक गर्नुभएको छ।
अध्यक्ष घिसिङको यो भ्रमण विशुद्ध रूपमा राजनीतिक भेटघाट र संगठन विस्तारमा केन्द्रित रहेको उहाँको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उहाँले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पुगेर स्थानीय पार्टी कार्यकर्ता, समाजका अगुवा तथा सरोकारवालाहरूसँग आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको छ।
निर्वाचनलाई लक्षित यस दौडाहाले मधेश प्रदेशमा उज्यालो नेपाल पार्टीको संगठनात्मक उपस्थितिलाई थप सुदृढ बनाउने र राजनीतिक प्रभाव विस्तार गर्ने अपेक्षा गरिएको छ।
