वीरगन्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सामा आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ। यसै क्रममा पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अमिताभ बच्चन दासले पर्सागढी नगरपालिका वडा नं.–१ स्थित मनवा बजारमा घरदैलो तथा जनसमुदायसँग भेटघाट कार्यक्रम गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार दासले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष सम्वाद गर्दै आफ्ना मुख्य एजेन्डाहरू प्रस्तुत गरेका छन् । उनले निर्वाचन जितेमा स्वदेशमै रोजगारीको सिर्जना गर्ने, यस क्षेत्रलाई कृषि हबको रूपमा विकास गर्ने र युवाहरूका लागि निःशुल्क प्राविधिक शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, आम नागरिकको सहज पहुँच हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारेका छन् ।
मनवा बजारका आम जनसमुदायले उम्मेदवार दासको योजना र प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। भेटघाटका क्रममा स्थानीय मतदाताहरूले यस पटकको निर्वाचनमा परिवर्तनको पक्षमा उभिने संकेत गर्दै ‘आँखा’ छापमा मतदान गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारलाई विजयी गराउने सामूहिक अठोट समेत व्यक्त गरेका छन्।
‘हामीलाई विकास र सुशासन दिने नेता चाहिएको छ, अमिताभ बच्चन दासका योजनाहरूले हाम्रा आधारभूत समस्या सम्बोधन गर्ने विश्वास पलाएको छ,’ एक स्थानीय मतदाताले भेटघाटका क्रममा बताए।
क्षेत्र नम्बर २ मा आफ्नो बलियो उपस्थितिको दाबी गर्दै आएको प्रगतिशील लोकतान्त्रिक पार्टीले यस पटकको निर्वाचनमा जनताको पूर्ण समर्थन पाउनेमा ढुक्क रहेको बताएको छ।
